बर्दिया | भदौ ९, बर्दियामा सशस्त्र प्रहरीले ठूलो मात्रामा भेप बरामद गरेको छ। बरामद गरिएका ती भेपको बजार मूल्य करिब ४८ लाख रुपैयाँ बराबर पर्ने प्रहरीले जनाएको छ।
मधुवन नगरपालिका–८ फुलराम चोकमा मध्यराति विशेष सूचनाको आधारमा खटिएको टोलीले ८ वटा कार्टुन बरामद गरेको हो। ती कार्टुनभित्र एक हजार ९२० वटा भेप रहेका थिए।
दुई वटा साइकलमार्फत भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीलाई देखेपछि संलग्न व्यक्तिहरू अन्धकारमै भागेका थिए। घटनास्थलमै भने सामान नियन्त्रणमा लिन प्रहरीले सफलता पायो।
बरामद गरिएका भेप अहिले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।