एक्कासी बिरामी बढ्दा नारायणी अस्पताललगायतका स्वास्थ्य संस्थामा चाप बढेको छ।
वीरगञ्ज | भदौ ९ – वीरगञ्जमा हैजाको प्रकोप बढ्दै गएपछि स्थानीयवासी त्रसित भएका छन्। हालसम्म ७९ जनामा हैजा पुष्टि भएको छ भने बिरामीहरूको संख्या दैनिक बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ।
वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रका बासिन्दा अचानक पेट दुख्ने, पखाला र अत्यधिक प्यास लाग्ने जस्ता लक्षण देखिएपछि अस्पताल धाउन थालेका छन्।
एक्कासी बिरामी बढ्दा नारायणी अस्पताललगायतका स्वास्थ्य संस्थामा चाप बढेको छ।
तर, संक्रमणको वास्तविक स्रोत भने अझै पत्ता लागेको छैन। जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरूले खानेपानी र सरसफाइलाई मुख्य कारण मान्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
हैजाको फैलावट रोक्न स्वास्थ्यकर्मीहरूलाई अत्यावश्यकबाहेक सबै बिदा रद्द गरिएको छ।
नगरमा क्लोरीन मिसाइएको पानी वितरण गर्ने, सरसफाइ अभिवृद्धि गर्ने र घरघरमा सचेतना फैलाउने अभियान सुरु भएको छ।
स्वास्थ्यकर्मीहरूले उमालेको वा फिल्टर गरेको पानी मात्र सेवन गर्न, खाना राम्ररी पकाएर मात्र खाने, साबुनपानीले हात धुने जस्ता सावधानीहरू अपनाउन सुझाव दिएका छन्।
