बिराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड निकट तानिएका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले रचेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताएका छन् । उनले माकुराको जालोमा भैसी नपर्ने भन्दै ब्यङ्ग्य पनि गरे ।
अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले भने ‘हामी धेरै अप्ठेराहरु झेलेर आएका छौं । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं, त्यसकारण म भन्ने गर्छु माकुराले थापेको जालोमा भैसी पर्दैन । अहिले पनि माकुराहरूले थुुप्रै जालो थापे । तर गैडा सुरु–सुरु अघि बढ्छ । जालो कहाँ थियो, त्यसले थाहै पाउँदैन । हामी देश विकासको कुरा हेरेर अघि बढेका छौं ।’
प्रचण्ड–नेपाललगायतलाई संकेत गर्दै उनले भने,‘ माकुराले कहाँ जालो थापेको छ ? जालो चुँडाएपछि ऊ कराउन थाल्छ – जालो चुडिँयो, यसरी चुडाउन पाइदैंन भन्छ । उसले थापेको जालो नै थाहै नपाई चुँडिन खालको छ त म के गरौं ?’
उनले यदि आफू नेतृत्वको सरकार नरहे अब हुने चुनावबाट फेरि दुई तिहाइ बहुमत ल्याएर फेरि सिंहदरबार पस्ने बताए । उनले भने,‘कसैलाई प्रतिपक्षमा बस्न के–के न गाह्रो हुन्छ । ०७३ सालमा म प्रधानमन्त्रीबाट हटाइएँ । १९ महिनापछि दुुई तिहाई लिएर फर्किएँ । अहिले हटाउन सक्छ भने हटाइयोस् । हटाउने प्रयास भइरहेको छ । तर, २० महिनापछि फेरि यो पार्टी, सूूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुई– तिहाई लिएर सिंहदरबारबाटे मुलगेटबाट फेरि पस्छ । हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं । हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं । हामी राजनीतिक प्राणी हौं ।’