सुरुमा मुख्तियार भीमसेन थापाबाट आफ्नो दरवारसँगै पहिलो पटक धरहरा निर्माण भएको थियो । वि.सं. १८८१मा मुख्तियार भीमसेन थापाबाट ‘राष्ट्रिय स्वतन्त्रता, अखण्डता, गोर्खाली स्वाभिमान, उन्नति, प्रगति र अंग्रेजले वार्षिक भारु २ लाख दिएर अधिनमा पार्न खोजेको तराईको भूभाग फिर्ता लिएको प्रतीक’ को रूपमा हालको धरहराको दक्षिण–पश्चिमपट्टि रहेको आफ्नो निवास वाग दरवार परिसरमा मुगल शैलीमा निर्माण गरिएको थियो ।
यो धरहरा देखेपछि तत्कालिन श्री ५ रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरासुन्दरीबाट सोही धरहरा जस्तै अर्को धरहराको ईच्छा गरेपछि हाल रहेको स्थानमा बि. स. १८८२ मा दोश्रो धरहरा निर्माण भएको हो । दुबै धरहरा हाल जस्तै बाहिरबाट हेर्दा ११ तले थिए ।
धरहरा निर्माणको केही समयपछि बि सं १८९० को भुकम्पमा परि पहिलो पटक दुबै धरहरा भत्किंन गयो । सो समय सत्तामा भीमसेनको पतन भईसकेकोले उनले निर्माण गरेको धरहरा बेवारिसे नै छोडियो भने दरवारको नाम जोडिएको कारण रानीबाट निर्मित धरहरा भने पुनर्निर्माण भयो । यसपछि पनि चट्याङका कारण बि सं १९१३ तिर पुन: सो धरहरा चर्किएपछि श्री ३ जङबहादुरको शासनकालमा बि सं १९२६ मा धरहरा पुन: पुनर्निर्माण गरिएको थियो । यसपछि बि सं १९९० को महाभुकम्पमा परि फेरि धरहरा भत्किंदा श्री ३ जुद्दशमशेरबाट यसको पुनर्निर्माण भएको थियो । बि सं २०७२ सालको महाभुकम्पमा परि क्षति पुगेक धरहरालाई भने भत्किएको भाग यथास्थितिमै संरक्षणसाथ राखेर सँगैको स्थानमा आधुनिक तरिकाबाट धरहरा निर्माण गरियो ।
– जगदिश जग्स भन्डारी