
दारी ग्याङ सदस्यहरुको भातृत्व पनि बडो गज्जबको छ । ‘दारी ग्याङ’ का सदस्यहरु ग्याङ्गका सदस्यहरु भन्दा पनि एकार्काको दाजुभाइहरु हुन भन्छन् ।
एक समय थियो जुन बेला दारी पालेका, कपाल पालेका , कुन्डल लगाएका पुरुष देख्ने बित्तिकै नकरात्मक सोचिन्थ्यो । अहिले पनि कहिकतै त्यस प्रकारका सोच भएका कोहि भेटिए ती अपवाद हुन । दारी पाल्दैमा , कपाल पाल्दैमा , मुन्द्रा लगाउदैमा , ट्याटु कसैले खोप्दैमा उ फटाहा हुन्छ भन्ने सोच भएकाहरुलाई त दारी ग्याङले एक प्रकारले झापडै हानेको छ । दारी ग्याङमा आवद्ध भएका युवाहरुका कर्म , उनीहरुको रहनसहन , भातृत्व, उनीहरुले समाजमा पुर्याएका योगदानहरुलाई हेर्ने हो भने ” डन्ट जज अ बुक बाइ इट्स कभर” उद्धरणले न्याय पाउदछ ।
दारी ग्याङ सामाजिक सन्जालमा चर्चामा रहेको पुरुषहरुको समुह हो । झट्ट सुन्दा दारी पाल्ने युवाहरुको मात्र समुह जस्तो सुनिएता पनि यस समुहमा दारी नभएका युवाहरु पनि प्रशस्त जोडिएका छन । कानुनी रुपमा दर्ता भइसकेको यस समुहको फेसबुक ग्रुपमा १ लाख भन्दा बढि सदस्यहरु रहेको छ । सदस्य संख्या सङ्गै यहा भएका सदस्यहरुको आउटलुक्स , पेशा तथा कृयाकलापहरुमा भिन्नता पनि रहेको पाइन्छ । दारी ग्याङका एक संस्थापक जगदिश भन्डारीले झ्याप्प दारी पालेका छन । कपाल पनि लामै छ उनको । उनी पुराना तश्बिर संकलन गर्ने चर्चित युवक हुन । अहिलेको युवाहरुले उनलाई नेपाली गुगल पनि भन्ने गर्छन ।पुराना पुराना इतिहासका तश्बिर तथा लेख संकलन गरेर उनले नेपालको इतिहासलाई उजागर गरिरहेका छन । अभिषेक राज सिङ थापा दारी ग्याङको शुरुवातदेखिकै संस्थापक सदस्य हुन । दारी ग्याङमा सबैभन्दा लामो दारी शायद उनैको छ । लामो कपाल , कानमा मुन्द्रा , शरिरको विभिन्न भागमा खोपिएको उनको ट्याटु तथा उनको ड्रेस अपलाई देखेर धेरैजना डराएको घटना उनले बेलाबेला भोगिरहन्छन । उनी मोडल , लेखक , समाजसेवि , मोटिभेसनल स्पिकर तथा व्यवसायी पनि हुन । लामो ड्रेडलक कपाल पालेका दारी ग्याङकै सदस्य असिम खत्री केसी एक सफल व्यवसायी तथ वारिस्टा ट्रेनर हुन । यस्तै प्रकारले दारी ग्याङमा अन्य धेरै सदस्य छन जो बिभिन्न किसिमको पेसा तथा कृयाकलापमा आवद्ध छन । डाक्टर , इन्जिनियर , कलाकार , गायक , विध्यर्थी जस्ता विभिन्न क्षेत्रमा आवद्ध युवाहरु दारी ग्याङका सदस्य छन ।
दारी ग्याङ सदस्यहरुको भातृत्व पनि बडो गज्जबको छ । ‘दारी ग्याङ’ का सदस्यहरु ग्याङ्गका सदस्यहरु भन्दा पनि एकार्काको दाजुभाइहरु हुन भन्छन् । ग्रुपमा रहेका सदस्यलाई कुनै समस्या पर्यो भने सबैजना एकजुट हुन्छन् । कुनै विषयमा जानकारी लिनु पर्यो भने पनि फेसबुक ग्रुपमा पोस्ट गर्नासाथ सहयोग पाइन्छ । ग्रुपमा डाक्टर, इन्जिनियर, पत्रकार, व्यापारी, शिक्षक, वैज्ञानिक, कलाकार, कृषक, मोबाइल मर्मतकर्तासम्म भएकाले जुनसुकै समस्याको हल तत्कालै निक्लने गर्छ । कुनै किसिमको रोजगारका अवसरहरु आएमा समेत ग्रुपमा पोस्ट गरिन्छ र ‘दारी ग्याङ’कै सदस्यलाई सो अवसर प्रदान गरिन्छ ।
सामाजिक हितका कृयाकलापमादारी ग्याङ सकृय छन। समजामा भएका पिडाहरुलाई सम्बोधन गर्ने सारथिको रुपमा पनि उभिएको छ दारी ग्याङ । दारी ग्याङको नेतृत्वमा क्यान्सर पिडित बालबालिकालाई सहयोग गर्ने देखि लिएर पैसा तिर्न नसकेको कारण अस्पतालबाट डिस्चार्ज नपाएकी जाजरकोटकी कल्पना रोकालाई उद्धारको काम भएको छ ।यसै गरी मलद्वार क्यान्सर लागेका जानुका पराजुलीको निम्ति दारी ग्याङ झापाको पहलमा विभिन्न ठाउहरूबाट लाखभन्दा बढी रकम सङ्कलन गरी हस्तान्तरण गरिएको थियो । त्यस्तै दारी ग्याङ झापाकै सक्रियतामा ब्रेन ह्यामरेज भएका केन्द्रबहादुर कार्कीलाइ रु १ लाख ३ हजार हस्तान्तरण गरेको थियो ।नेपाल आइडल सिजन १ र द भोइस अफ नेपाल सिजन १ को कतारमा भएको फाइनलमा पनि दारी ग्याङ्ग कतारले स्वयमसेवकको भूमिका निर्वाह गरेको थियो । एक वर्षअगाडि कतारस्थित स्टिल ट्रेडिङ कम्पनीमा कार्यरत १६ अलपत्र नेपाली कामदारहरूलाई दारी ग्याङ कतारले १५ दिनसम्म खाने व्यवस्थासँगै प्रक्रिया मिलाएर स्वदेश फर्काएको थियो । त्यस्तै काभ्रे घर भइ अलपत्र परेका दीपक गिरिलाई पनि यो समूहले सकुसल उद्धार गरेको थियो । त्यस्तै २ वर्ष अगाडि तराइमा आएको बाढीमा दारी ग्याङ्गले विराटनगरमा अकस्मात सहयोग गरी लगभग १० दिनसम्म बाढीले प्रभाव पारेको वस्तीमा श्रमदान गर्यो ।दारी ग्याङ्गकै सहयोगमा पथरी मोरङस्थित एक शारीरिक अपाङ्ग भएका विष्णु रसाइलीको निम्ति टिनको छाना लगाइएको पक्कि घर बनाइदिएको थियो ।
वीर अस्पताल सरसफाइ अभियानलाई साथ दिन दारी ग्याङ्गले सुमन वाग्लेको सक्रियतामा अस्पतालका भित्ताहरू सजाउन काम जिम्मा लिएको थियो । यसरी विभिन्न समयमा विभिन्न माध्यामबाट दारी ग्याङले समाजमा आवश्यक परेको सहयोगको निम्ति काधमा काध जोड्ने गरेको छ । त्यसैले यस समुहमा प्रचलित उद्धरण ” गालामा दारी, काधमा जिम्मेवारी” ले सार्थकता पाएको छ ।
दारी ग्याङका कृयाकलापलाई हेरेर फेरी पनि मज्जाले भन्न सकिन्छ , ” डन्ट जज अ बुक बाई इट्स कभर ।”