सविन घिमिरे,
सिन्धुपाल्चोक ज्यामिरेका उनी पत्रकार थिए र शिक्षक पनि ।उनी त्यतिबेला सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)मा रिपोर्टरको रुपमा काम गरिरहेका थिए । सङ्गसङ्गै सिन्धुपाल्चोक ज्यामिरेस्थित जनता मावि स्कुलमा पढाउँथे । २०६० भदौ २१ को त्यो कहालिलाग्दो दिनमा उनको स्कुलमा विद्यालय प्रशासनसँग भएको केहि विवाद सुल्झाउनको लागि अभिभावक भेला बोलाइएको थियो । सो भेलामा उनले आफ्नो भनाइ राखेर फ्लोरमा आए पस्चात गाउँमा कसैले नचिनेका ४ जना मान्छे कार्यक्रम स्थलमा आए । उनलाई झ्याप्प समाते र आखामा पट्टि बाध्न थाले । उनले तिनीहरुलाई हार गुहार गरे । त्यहा उपस्थित कसैले पनि ती ४ को को प्रतिकार गर्न सकेनन। तिनीहरुले उनलाई घिस्याउदै लगे ।
१० वर्षकी छोरी अजिताले बाबालाई बाँधेर लगेको देखेपछि बाबालाई घिस्याउदै लादैछन भन्ने कुरा आमालाई सुनाइन । मिथिला अत्तालिदै पछिपछि लागिन । स्कुलबाट पनि केहि मान्छे पछिपछि लागेका थिए । घरबाट करिब ५ सय मिटर पर देवीको मन्दिर छेउमा रहेको खुल्ला स्थानमा भलिबल खेल्नको लागि गाडिएको पोल थियो । अपरिचित ती ४ को समुहले त्यहि पोलमा उनलाई बाध्ने सुर कस्छन । मिथिलाले ती व्यक्तिहरुलाई आफ्नो पतिलाई छाड्नको लागि अनुनय गर्छिन ,रुन्छिन , कराउछिन । तर उनीहरुले सुन्दैनन। खुकुरी निकाल्छन , शृमतिकै अगाडि स्वार्र उनको घाटिमा रेट्छन। यतिबेलासम्म मिथिला बेहोस भइसकेकि हुन्छिन । पत्रकार तथा शिक्षक ज्ञानेन्द्र खड्काको जिवन क्षणभरमै विभत्स लाश बन्छ ।
यस पस्चात ज्ञानेन्द्रको घरमा उनका साथि तथा गाउँलेहरु गए । अवस्था हेर्न सकिने किसिमको थिएन । मिथिला बेहोस थिईन । पानी छम्कँदा पनि होस आइरहेको थिएन मिथिलाको । दाइ नगेन्द्र खड्का पनि बेहोस थिए । घटनास्थलमा लास त्यतिकै बेवारिसे थियो । कुकुर , स्याल अथवा जेले पनि लैजान सक्थ्यो । गाउँलेहरु मिलेर भोलिपल्ट लास लिएर गए । लास ल्याएपछि चेक गर्दा उनको गोजिमा एउटा कागज माओवादीले छाडेका रहेछन । हत्या गर्नुको कारण भनेर १२ वटा बुँदामा आरोप लगाइएको थियो। १२ वटामध्ये ९९ प्रतिशत आरोप कपोकल्पित तथा कतैबाट पुष्टि नभएको सिन्धुपाल्चोकका पत्रकार तथा ज्ञानेन्द्र खड्काका साथि युवराज पुरीले एक लेखमा लेखेका छन । यस घटनाबारे पुरीले देखेका कुराहरु नेपाल प्रेस डट कमको माओवादी बर्बरताको शिकार बनेका एक पत्रकार शिर्षकको लेखमा पढ्न सकिन्छ ।
यस घटनाबारे विभिन्न किसिमले विभिन्न माध्यमबाट पत्रपतृकामा छापियो । त्यो बेला फोटो खिच्न तथा समाचार लेख्न डरमर्दो थियो । अहिलेजस्तो मोबाइल तथा क्यामरा थिएन । त्यतिबेला पत्रकार महासंघले एउटा टीम बनाएर घटनाको छानवीन गर्ने काम गर्यो । प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।पत्रकार महासंघले हचुवाको भरमा तत्काल निर्णय गरेर उनको हत्या गरिएको हो भन्ने निस्कर्ष निकालेको थियो ।
ज्ञानेन्द्र खड्काको हत्यारा को थिए भनेर पछि अनुमान भएपनि एकिन गरेर भन्न नसकिएका उनीहरू गाउँमा पहिलोपटक देखिएका मान्छेहरू थिए रे ।
(माथि लिइएको तस्बिर स्व .ज्ञानेन्द्र खड्काका साथि तथा पत्रकार युवराज पुरीले खिचेका हुन । )