वैठक शुरु हुनुअघि
आइतबार बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरूको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजे सम्मको समय दिने निर्णय गरेको थियो । सो अवधिमा दुवै पक्ष सहमतिमा जुट्न सकेन । यसबिच विभिन्न पार्टी तथा नेताहरुले आ आफ्ना धारणा राखेका थिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सोमबार संसद्मा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नहुने जनाएका थिए । जसपाको भट्टराई र उपेन्द्र यादव पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्ने तथा महन्थ ठाकुर र राजेन्द्र महतोले पनि ओलीलाई विश्वासको मत नदिने बताएका थिए ।
अल्टिमेटम सकिएपछि सोमबार बिहान माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूबीच छलफल भयो । छलफलपछि नेपालपक्षका सांसदहरु बैठकका लागि सिंहदरबारको संसद् सचिवालयमा जम्मा भए । यता प्रधानमन्त्री ओलीले दिउसो १ बजे प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको थियो। नेपाल समूहले अनौपचारिक रुपमा सांसद सदस्यताबाटै सामूहिक राजीनामा दिएर नयाँ सरकार बनाउन विपक्षी दलहरुलाई सहज बनाउने निर्णय गरिसकेको थियो । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले नेपाल- झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गर्यो। सामूहिक राजीनामा दिने विषयमा अहिलेलाई अनुपस्थित हुँदा पुग्ने निष्कर्षमा पुगेको बताएको थियो । बैठकमा सांसदहरुले आफ्ना धारणा राख्नेक्रममा केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिइ बीचको बाटो खोज्न सुझाव दिए ।
सरकारलाई विश्वासको मतमाथि संसद्मा मतदान हुन केही घण्टा बाँकी छँदा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्विट मार्फत आफ्ना दलका सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान गर्न आह्वान गरे । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहले अनुपस्थित हुने निर्णय गरेपछि नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा ह्वीप उल्लङ्घन गर्नेलाई पार्टी केन्द्रीय कमिटीले कारबाही गर्ने चेतावनी दिए । नेपाल-खनाल समूहले प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि पार्टीका स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेलले घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग भेटेर छलफल गरे।
संसद बैठक सुरु हुनु केहीबेरअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने दुवै दलको यथावत निर्णयसंगै कांग्रेस र माओवादीबीच धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी गरेका थिए । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दियो ।
वैठक शुरु भएपछि
प्रधानमन्त्री ओलीको अनुरोधमा विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको दिउसो प्रतिनिधिसभाको बैठकमा शीर्ष दलका नेताहरु आउने क्रम जारी भयो । कोभिड संक्रमित सांसदलाई छुट्टै हलमा मतदानको व्यवस्था मिलाइएको थियो । दलीय आधारमा छुट्याइएको बढीमा २ घण्टाको समयमा सत्ता र प्रतिपक्ष सांसदहरूले मन्तव्य राख्ने सहमति कार्यव्यवस्था बैठकमा भएको थियो ।
सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए पछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर १५ मिनेटको लागि बैठक स्थगित गरे । १५ मिनेट पछि संसद्को दोस्रो बैठक सुरु भयो । विश्वासको मतसम्बन्धि प्रस्ताव पेस गर्न प्रधानमन्त्री केपी शर्मा ओली बोल्न सुरु गरे। प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले सरकारमाथि हिलो छ्याप्ने काम भएको बताए । सरकार कोरोना भाइरस संक्रमण विरुद्धमा लागेको बेला अनावश्यक रूपमा आक्षेप लगाउने काम भएको तथा कोभिड नियन्त्रणमा सरकार लागे पनि अनेक अप्ठ्यारा सामना गर्नुपरेको बताए। विश्वभर कोरोनाविरुद्धको भ्याक्सिन अभाव रहेको बेलामा पनि सरकारले कोरोनाको खोप लगाउने काम गरिरहेको तथा कोभिड नियन्त्रणका लागि सम्पूर्ण ध्यान केन्द्रित गरेको उनले दाबी गरे। राष्ट्रियताको सवालमा सरकारमाथि प्रश्न उठाउने ठाउँ नभएको प्रधानमन्त्रीले जिकिर गरे । उनले संविधानको स्वीकार्यता, हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएका लगायतका कुरा राख्दै सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताए । उनले आफ्ना काम देखेपछि सांसदहरूले विपक्षमा मतदान गर्न नसक्ने बताए ।
प्रधानमन्त्री ओली पस्चात शिर्ष दलका नेताहरुले मन्तव्य दिएका थिए
नेपाली काङ्रेसका सभापति शेर बहादुर देउवाले सरकारलाई काम गर्न कहाँ नदिइएको भनेर प्रश्न गरेका थिए । उनले अहिले विश्वासको मत माग्नुपर्ने अवस्था प्रधानमन्त्री ओलीका कारण आएको बताए । कोरोना संक्रमणबारे विज्ञले र आफ्नो पार्टीले दिएको सुझाव सल्लाहहरु नमानेको , आफू निकटका व्यापारिक घरानालाई पोस्नका लागि प्रधानमन्त्रीले नेपाली जनताको जीवन दाउमा लगाएको जस्ता आरोप लगाए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए । प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा बोल्दै गर्दा आफूलाई असन्तुष्टि महसुस भएको उनले बताए। दाहालले अहिले संविधानलाई कोरोना लागेको जस्तो भएको जिम्मेवार ओली रहेको बताए । उनले प्रधानमन्त्रीलाई ”प्रतिनिधिसभासङ विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ?” भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएका हुन् कि भन्ने आशंका व्यक्त उनले गरेका थिए । दाहालले प्रधानमन्त्री केपी ओलीको विश्वासको मतको विपक्षमा भोट हाल्न सांसदहरूलाई आग्रह गरे ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा पक्षमा पनि नरहेको, विपक्षमा पनि नरहेको बताए । मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेको भन्दै अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कुन आधारमा विश्वासको मत दिनुपर्ने हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए । मधेस आन्दोलन, संघीयता र समावेशिताका विरुद्धमा रहेका प्रधानमन्त्रीलाई किन विश्वास दिने भनेर उनले सोधे । प्रधानमन्त्री ओलीले संघीयता, समावेशिताविरुद्धमा काम गरेको यादवको भनाइ थियो । प्रधानमन्त्रीले विगतमा भन्ने गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’ अहिले ‘ दरिद्र नेपाल दुखी नेपाली” भएको भन्दै विश्वासको मत कसरी दिने? भनेर उनले प्रश्न गरेका थिए । यादवले आफ्ना पक्षका सांसदले विश्वासको मतको विपक्षमा मत दिने र वैकल्पिक सरकार खोज्ने निर्णय भएको बताए ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा गर्नु रहेको बताइन । ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेर वाममोर्चालाई अगाडि बढाउनुपर्ने सुझाव दिईन । उनले राष्ट्रिय जनमोर्चाको आग्रह प्रधानमन्त्रीको राजीनामा रहेको बताइन् । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको सुनाउँदै पौडेलले अरु दलहरू र सांसदहरूलाई पनि प्रधानमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा मत दिन आग्रह गरिन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेको उत्तम विकल्प निर्वाचन भएको बताए । प्रधानमन्त्री ओलीलाई विश्वास दिने कि नदिने भन्ने कुरा प्रष्ट नराखेका उनले अहिले जनतामा गएर निर्वाचन हुनु नै सही हुने धारणा राखे ।
प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ
प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए । “आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने?’ ‘आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने?’ ओलीले प्रतिपक्षी दलहरूलाई प्रश्न गरेका थिए । ‘संसद्को स्थायित्वका लागि मुद्दा लडेर ल्याएको संसद् बचाउँ, भोट दिउँ ।’ भनेर उनले विश्वासको मत मागे । ओलीले संसद्को विश्वास आफूमाथि नरहेमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । ‘विश्वासको मत भनेको संसद् बाहिर गरिएको हल्ला होइन । यो संसद्भित्रको प्रक्रिया हो । संसद्ले फैसला गरोस् । मैले सरकारको नेतृत्व गर्न आवश्यक छ कि छैन भन्ने फैसला गरोस् । मार्ग प्रशस्त गर्नुपर्छ,’ उनले भने । प्रतिनिधिसभा फेरि विघटन हुने आशंका नराख्न पनि ओलीले आग्रह गरे ।
मतविभाजन प्रक्रिया सुरु
ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएसँगै प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरे । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिए । तटस्थमा १५ मत पर्यो । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेको आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए । योसङ्गै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास गुमाए । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्मा अस्वीकृत भयो ।
सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरे।
प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
साँझ केहीबेरमात्रै बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्यो। संसद्बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।