काठमाडाैँ , २७ वैशाख २०७८ – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् । सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिननसके पछि उनी पदमुक्त भएका छन् ।
यसअघि प्रधानमन्त्री ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका थिए ।