शिक्षक नभएको बेला प्राय: बिद्यार्थी कक्षा बाहिरै हुन्थे । शिक्षक कक्षामा पसिसकेपछि पनि बिद्यार्थी बाहिर जान खोज्थे । कारण सोध्दा सुनिन्थ्यो -“पानी पिउन सर , पानी पिउन जान लागेको सर !” मानौ पानी स्कुलमा मात्र पिउन पाइन्छ र कक्षा अवधिमामात्र पानी पिउनुपर्छ ।
एकदिन होइन , दुईदिन होइन प्राय: सधै र एकजना होइन , दुईजना होइन प्राय: सबै बिद्यार्थीको उस्तै रबैयाले म चिन्तित थिए । यसबारे उनीहरुसंग छलफल गर्दा ” पानी पिउनु त राम्रो हो नि सर ।” भन्ने जवाफ पाउथे । कोहि टिफिनको समयसम्म पर्खदा पर्खदा घाटी सुकिसक्छ भन्थे । चुपलाग्नुको उपाय मसंग हुदैन थियो । जतिबेला पानी ! पानी ! र पानी! सुनेर म वाक्कदिक्क थिए ।
उपाय खोजि गर्ने क्रममा छलफल गर्दा एक भद्र विद्याथर्थीले गोप्य रुपमा भने – ” सर! हाम्रा साथिहरु पानी पिउन होइन , गफगाफ गरेर मुड फ्रेस गरेर फर्कन्छन । उनीहरुलाई न पानी पिउनु छ , न बाथरुम नै जानु छ ।मात्र पानीको बाहानामा कक्षाको पढाइमा बाधा पुर्याएर आफुलाई ठुलो देखाउनु छ । ”
ती विद्यार्थीको कुरालाई केन्द्रविन्दु बनाएर समस्या समाधान स्वरुप साथमा सधै एक जग पानी लिएर कक्षामा जान थाले । जो बाहिर जान खोज्छ , उसलाई आफैले लगेको पानी दिदै त्यहि पिउन भन्न थाले । एकाध विद्यार्थीले लजाउदै पानी पिए पनि , अधिकांश बाहिर जानै छाडे। कक्षा व्यवस्थित बनाउन सहयोग पुग्दै गयो । समस्या रहेकै ठाउमा उपाय भेटेकोमा चिन्तामुक्त हुदै गए ।
नन्दलाल आचार्य
जनसेवा मावि , कर्जन्हा ४ , सिराहा