काठमान्डौ , ६ जेष्ठ २०७८- औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको छ । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर उत्पादन गर्न सक्ने भएपछि मात्र अनुमति दिइएको केसीले बताए ।
उनका अनुसार कम्पनीले नेपालमा १५ देखि २० दिनभित्र उत्पादन गर्ने औषधी विभागलाई जानकारी दिएको छ। सो औषधी जेठ मसान्तसम्म बजारको लागि तयार हुने र स्वदेशमै उत्पादन हुँदा ‘रेम्डेसिभिर’को अभावको समस्या पनि कम हुँदै जाने विभागले जनाएको छ।
यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो ।