काठमान्डौ, ८ जेष्ठ २०७८- शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गर्नुका साथै कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेका हुन् ।