विराटनगर, ९ जेष्ठ २०७८- प्रतिनिधिसभा विघटनको विरोधमा आज देशको विभिन्न ठाउमा विरोध कार्यक्रमहरु भए । कलंकीमा आइतबार साँझ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।नेविसंघकी महामन्त्री उर्मिला थपलियाको नेतृत्वमा मसाल जुलुस र पुत्ला दहन गरिएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक रुपमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेको कदमको विरोधमा कांग्रेस, माओवादी केन्द्र, एमाले, जसपा, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।
त्यस्तै असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघ रुपन्देहीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए ।
प्रतिनिधिसभा विघटनको विरोधमा सिन्धुलीमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । कोरोना संकटका बेला निर्वाचनको नाटक गरेको भन्दै माओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएलले आइतबार साँझ सिन्धुली माडीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन ।
फिचर इमेज स्रोत: ईकान्तिपुर डट कम