
भनिन्छ स्वर्ग पुग्ने चाहाना सबैमा हुन्छ तर मर्न कोहि चाहदैन । त्यस्तै पैसा कमाउने र धनि हुने इच्छा सबैलाइ हुन्छ, तर हामी पैसा र सम्पतिवाला मानिसहरुप्रति त्यति सकारात्मक नजरिया राख्दैनौ , किन? किनकि हामी मध्ये धेरैलाइ लाग्छ, पैसा गलत तरिकाले मात्र कमाउन सकिन्छ वा गलत काम गर्नेले मात्र पैसा कमाउन सक्छन । होइन, पैसा गलत तरिकाले मात्र नभएर सहि तरिकाले पनि कमाउन सकिन्छ र धेरैले कमाएका पनि छन ।
धेरैलाई पैसा गलत तरिकाले मात्र कमाउन सकिन्छ भन्ने लाग्नु स्वाभाविक पनि हो, किनकि समाजमा यहि कुरा भएको देखिन्छ। केहि समय अधिसम्म केहि आर्थिक हैसियत नभएका मानिसहरु, कुनै पनि किसिमको आय आर्जनको काम नगरी रातारात सम्पन्न भएको घटनाहरु हाम्रा आखा अगाडी नै छन् । कहाबाट आयो एकाएक उनीहरु संग यत्तिका धेरै सम्पति? यहाँ हुनेखाने मानिसहरु संग डाह र इर्ष्या भएर यो बिषय उठान गर्न खोजिएको होइन । हामी चाहन्छौ, यो देशको हरेक नागरिक समृद्ध हुनु पर्दछ र हुन पाउनु पनि पर्दछ । तर पैसा गलत तरिकाले होइन, सहि तरिकाले कमाएको हुनु पर्दछ ।
आज हामि समाजमा धेरै यस्ता व्यक्तिहरु देख्दछौ, जसले सामाजिक मूल्य मान्यता बिपरित कार्य गरि सम्पति आर्जन गरेका छन् । जोसंग सामाजिक प्रतिष्ठा, सम्मान, सम्पति, पहुच र शक्ति आदि कुनै कुराको कमि छैन । यिनै कुराहरुलाई अधार बनाइ दान दक्षिणा गर्ने, चुनाव लड्ने, ब्यापार व्यावसाय गर्ने, सामाजिक-धार्मिक आदि जस्ता कार्य गरि समाजमा ति व्यक्तिहरु थप सम्पति र शक्ति संचय हासिल गर्न सफल हुन्छन् ।यसले गलत काम गरेर मात्र पैसा कमाउन सकिन्छ भन्ने धारणा समाजमा बिकस भएको छ । साथै, सहि होस् वा गलत, फरक पर्दैन, जसरि भएपनि पनि पैसा कमाउनु पर्छ भन्ने मान्यता समाजमा स्थापित गरिदिएको छ । जसले सहि बाटोलाइ लत्याई गलत बाटो अपनाउन धेरैलाई प्रेरित गरेको छ ।
निसन्देह पैसा सबैको आवस्यकताको बिषय हो । जीवन संचालनको निम्ति धेरथोर पैसा नभई हुदैन भन्ने कुरालाइ नकार्न सकिन्न । तर पैसा कसरि कमाउने भन्ने प्रश्न महत्वपूर्ण हो? पैसा बोटमा फल्ने कुनै बस्तु होइन, जसलाई टिपेर जो कोहि रातारात धनि हुन सकोस् ।पैसा दुइ तरिकाले कमाउन सकिन्छ । पहिलो तरिका: आफ्नो पेशा-व्यावसाय र उद्यम मार्फत प्रभावकारी सेवा प्रदान गरेर ।अर्थात् जोखिम लिएर, बचत र लगानी गरेर, दिमाग खियाएर, मिहेनेत गरेर, बजारमा अरुले चाहेको जस्तो बस्तु तथा सेवा प्रदान गरे बापत पारिश्रमिक वा नाफा आर्जन गरेर । जुन बैधानिक तरिका हो । दोश्रो बलजफ्ती अर्काको सम्पति लुटेर, खोसेर वा नीति नियम तथा कानुन बनाएर अरुको सम्पति आफ्नो पोल्टामा हाल्ने वातावरण बनाएर, जुन अपराधको साथै नीतिगत भ्रस्टाचार पनि हो ।
समाजमा कुनै व्यक्ति तथा संस्थाले दिएको वस्तु तथा सेवालाइ धेरै भन्दा धेरै मानिसहरुले मन पराइदिएको खण्डमा, त्यो व्यक्ति वा संस्थाले सम्पति आर्जन गर्ने कुरामा दुइमत छैन ।यसरि स्वेच्छिक लेनदेन र प्रभावकारी सेवा मार्फत अरुको विश्वास जिती पैसा आर्जन गर्न सबैले पाउनु पर्दछ । तर राजनीतिक संरक्षणको आडमा बलजफ्ती अर्काको सम्पति खोसेर वा कानुन बनाएर आफ्नो पोल्टामा हाल्ने वातावरण बनाउने कार्य कदापि नैतिक हुन सक्दैन ।सबैको हकमा यो कुरा लागु नभएपनि, विचार गर्नुस् त! आज हाम्रो समाजमा सम्पति को संग जम्मा हुदैछ? इमान्दार तरिकाले पेशा-व्यावसाय गरेर खाने मानिसहरुसंग कि राजनीति र सरकारी साठगाठ गरि उनीहरुको संरक्षणमा बाच्न खोज्ने व्यक्तिहरु संग?
बर्षौ देखि पेशा व्यावसाय र उद्यम अंगालेका मानसिहरु जो कुनैपनि किसिमको साठगाठ र संगठनमा संलग्न छैनन्, उनीहरुलाई अहिलेपनि आफ्नो ब्यापारको साख बचाउन र जीविकोपार्जन गर्न धौ-धौको अवस्था छ । तर कुनै पेशा व्यावसाय नगर्ने, समाजलाई कुनै किसिमको उपयोगिता सिर्जना नगरी राजनीति र सरकारी संरक्षणको आडमा जीवन चलाउनेहरुसंग आज एकाएक भरमार सम्पति थुप्रिएको अवस्था छ । यो कुरा कसरि सम्भव भयो? यस बिषय माथि मनन् गरि प्रश्न गर्न आवस्यक छ । यदि कसैले डर, धम्कि सृजन गरि अरुको सम्पति लुटेर आफ्नो बनाउने प्रयास गर्दछ भने यो सरासर अपराध हो ।
त्यसै गरि यदि कसैले राजनीतिक साठगाठ र सरकारी संरक्षणको आडमा सम्पति कमाएका वा कमाइ रहेका छन् भने राज्यको ढिकुटीको दोहन भएको अवस्था हो । जुन तपाइँ र मैले तिरेको करको रकम दुरुपयोग भइरहेको छ । यदि कसैले राजनीतिक साठगाठ र सरकारी संरक्षण मार्फत व्यापारिक एकाधिकार निम्त्याएर सर्वसाधारणलाई छनौटको अवसरबाट बन्चित गरि बढी मूल्य तिर्न बाध्य बनाउदछन् र नाफा आर्जन गर्दछन् भने सरासर अनैतिक हो ।जुन क्रियाकलापहरुलाई निरुत्साहित गर्न र गलत नियत भएका मानिसहरुलाइ कानुनको कठघरामा उभ्यायाई सजायको भागीदार बनाउन आवस्यक छ ।
यो देशको व्यवस्था र नीति नियमले केहि सिमित मानिसहरुलाई कमाएर खाने सहज बाटो बनाइ दिएको छ ल् सिमित मानिसहरुको निम्ति यो देश आज सुनको चिडिया जस्तो भएको छ भने, धेरैको लागि गरि खाने अवसर नभएर अरु देश तर्फ भासिनु पर्ने बाध्यता छ ।
जुन समाजमा मिहेनत गरि खान कठिन र अरुको सम्पति खोसेर खान सजिलो हुन्छ, ढिलो चाडो त्यो देशबाट असल मानिस र पुजी दुवै पलायन हुन्छन्, र समाज पतनको दिशा तर्फ उन्मुख हुन्छ ।
फेरिपनि भन्छु, धेरै होस् वा थोरै, पैसा सबैको आवश्यकताको बिषय हो। सबैले कमाउन जरुरि छ। तर गलत कार्य गरेर होइन, सहि तरिकाले सम्पति आर्जन गर्ने प्रेरणा र वातावरन हुन जरुरि छ ल् साथै सहि माध्यम द्वारा आर्जेको सम्पति र उद्यम व्यावसायलाइ हेर्ने हाम्रो सोच र नजरियामा पनि सकारात्मकता परिवर्तन आउन जरुरि छ । समाजमा आजको परिस्थिति निम्तिन गलत नियत भएका व्यक्तिहरुको मात्र हात नभएर तपाइँ हाम्रो पनि कहिँ न कहिँ दोष छ ।
भनिन्छ, दुइचार जना खराब व्यक्तिले गर्दा मात्र समाज बिग्रदैन। समाज त्यतिबेला बिग्रन्छ, जतिबेला राम्रा व्यक्तिहरुले आफ्नो क्षमता अनुसारको काम गर्न सक्दैनन् र गलत कुरालाई सहेर बसिदिन्छन् । हामी के कुरा बोल्छौ, त्यसको लागि मात्र जिम्मेवार हुँदैनौ। हामी के कुराको लागि बोल्दैनौ त्यसको लागि पनि हामी त्यति नै जिम्मेवार हुन्छौ। त्यसैले समाजमा मौलाउदै गएको कुनैपनि किसिमको बेथितिलाइ टुलुटुलु हेरेर बस्ने भन्दा पनि, यदि कहिँ कसैले गलत गरि रहेको छ भने प्रश्न गरौ । त्यस कुरा बिरुद्ध आवाज उठाऔ। साथै राम्रा मानिसहरुले गरेका सहि क्रियाकलापलाइ समर्थन र प्रोत्साहन गरि नागरिक समाजको भूमिका निर्वाह गरौ ।