महेस पाठक-
लुम्बिनी पदयात्रामा हेटौंडाबाट हिड्दा समेत मैले चिनेको भनेको पुकार बम ( जसको फेसबुक पोस्टबाट मैले विवेकशील अभियानको बारेमा थाहा पाएँ), सुबुना बस्नेत (जसले पुकार जीको पोस्टमा मेरो कमेन्ट कै आधारमा मलाई म्यासेज पठाएर विवेकशील अभियान र लुम्बिनी पदयात्राको बारेमा जानकारी दिनुभयो) र अंगराज भारती (जो पदयात्राको रुट म्यापिङका क्रममा हेटौंडामा आउँदा मलाई भेटेका थिए।) मात्रै हुन्।
उज्वल थापाको नेतृत्वमा छ यो अभियान भन्ने कुरा त पदयात्राको क्रममा बाटोमा नै थाहा पाएको।अलि मोटो मान्छे, अनुहारमा अलि धेरै खाल्डाखुल्डी भएको, तालुमा कपाल नभाको एउटा हातमा लठ्ठी बोकेर बिस्तारै बिस्तारै हिड्ने मान्छे; यहि थियो मेरो लागि उज्वल थापाको पहिलो परिचय।यस्तो हिड्न गाह्रो हुने मान्छे किन हिडेको होला भन्ने लाग्थ्यो।दाउन्नेबाट झर्ने बेला सम्ममा मेरो पनि घुँडा दुखेर हैरान भइरहेको थियो। बिस्तारै पेटमा पनि गडबडी सुरु भयो। आफु पनि कमजोर भएपछी भने उज्वल थापाको खुब माया लाग्न थाल्यो।
सकिनसकी लुम्बिनीको सबै कार्यक्रममा भाग लिएँ। कम बोल्न रुचाउने आफु पनि, उज्वल थापा पनि उस्तै रहेछन्। तर बोली यती मिझासिलो कि मन जिते यात्रा सकिंदा सम्ममा।
अहिले सम्झन्छु यी ढिला हिड्ने उज्वल थापाले लुम्बिनीसम्म हिड्छु भन्ने शाहस नगरेको भए मैले त्यो शाहस गर्ने मौका पाउँथें होला र? अझ उनि आफैं नहिडेको भए म यो यात्रामा यति धेरै भावनात्मक आत्मियता सहित जोडिन्थें होला र? वैकल्पिक राजनीतिक दल खोल्ने शाहस शाहस उज्वल थापाले नगरेको भए म आज यो यात्रामा हुन्थें होला र?
इन्डियाको आम आद्मी पार्टी भन्दा १-२ महिनाले जेठो हो तत्कालीन विवेकशील नेपाली दल। जब वैकल्पिक राजनीतिको कुनै उदाहरण नै खासै थिएन, यी उज्वल थापा जसले पहिले कहिल्यै राजनीति गरेकै थिएनन्, तीनले वैकल्पिक राजनीतिक दल खोल्ने शाहस कसरी गरे होलान्? त्यो पनि आफ्नो बाबुआमाको घरमा पार्टी अफिस खोलेर आफु चाहीं भाडाको घरमा बसेर। आफ्नो राम्ररी चलिरहेको आइटी कम्पनी (डिजिटल म्याक्स सोलुसन) लाई बन्द गरेर। कहाँबाट आयो होला यो मान्छेलाई एकाएक पार्टी खोल्ने सनक?
म २०-२१ वर्षको थिएँ जब उज्वल दाइले मलाई विवेकशील नेपाली दलको पहिलो केन्द्रिय समिति सदस्यको रुपमा प्रस्ताव गर्नु भएको थियो।
रन्जु जी २१ वर्षको हुनुहुन्थ्यो जब उहाँ काठमाडौंको मेयरको लागि उम्मेदवार बन्नुभयो। भर्खरका युवा हामीलाई यस्तो विश्वास गर्ने सनक कसरी आयो होला यो मान्छेलाई।
ए उज्वल दाइ,
उठ्नुस न यार।
हालका २-३ वर्षमा राम्ररी कुरा गर्न पनि पाएको छैन तपाईसँग। धेरै कुरा सुन्नु छ तपाईंका अनि धेरै कुरा सुनाउनु छ तपाईलाई।
हरिस प्रसाद भट्टजीले उज्वल दाइलाईसँग कुरा गर्न जाऔं न हामी भनेको पनि धेरै भयो। जीवन भरको लागि गुनासो हुन्छ यार यदी तपाईलाई भेटेर कुरा गर्न पाइन भने।
यस्तो दु:ख दिन पाइन्न है।
उठ्नुस दाइ, उठ्नुस्।