सविन घिमिरे-
कुनै समयमा विभिन्न चोक–चौरस्तामा राजामहाराजा तथा नेताको शालिक देख्न पाइन्थ्यो । राजनितैक उतार्चडावसंगै धेरै स्थानमा धेरै राजाका शालिकहरु ढालिए । कति ठाउमा चौतारा र इतिहासका रुपमा रहेका त शताब्दिऔ पुराना रुखहरु ढालिए । बाटोघाटो नभएका ठाउहरुमा सडक विस्तार भए, सडकसंगै शहर पनि विस्तारित हुदै गयो ।धेरै चोकहरुको अस्तित्व समाप्त भए भने नयानया चोकहरु पनि धेरै स्थानमा स्थापित भए । हाल धेरैजस्तो स्थानमा त्यस ठाउँलाई झल्काउने विभिन्न किसिममा सालिक तथा स्तम्भ देख्न पाइन्छ ।
प्रदेश न १ को धेरैजसो ठाउँमा सो ठाउको विशेषता झल्काउने किसिमको स्तम्भ बनाउने होडबाजि नै चलेको छ । विराटनगरको बरगाछी चोकको वरको रुखको स्तम्भ ( भर्खरै ट्रकले ठक्कर दिएर पुर्ण रुपमा भत्किएको ) बाट सुरु भएर दुहवीको फुटबल स्तम्भ, धरानको भानुचोकमा रहेको भानुभक्त आचार्यको सालिक हुँदै भेडेटारमा रहेको इमानसिंह चेम्जोंगको पूर्ण कदसहितको र शंखको स्तम्भले पहाडको स्तम्भको लहर सुरुवात गर्दछ ।धनकुटामा एभोकाडो, कागतेमा कागती, हिलेमा तोङ्बाको भाँडो, सिधुवामा फूलकोबी, हात्तिखार्कमा हात्ती, वसन्तपुरमा लालीगुराँस, मुढे शनिश्चरेमा यलम्बर र चाँपको रुख, मामलिङ्ग याक्खा चोकमा डोकेनी स्तम्भ, लसुनेमा लसुन, म्याङलुङमा बिरालो, संक्रान्ति बजारमा फाल्गुनन्द लिङ्देनको शालिक, भोजपुरमा करुवा जस्ता सयौ सालिक तथा स्तम्भ ठाउँठाउँमा बनाइएका छन् । एक–दुईवटाबाहेक प्रायः सबै स्तम्भ सिमेन्टबाट बनाइएका छन् । त्यसो त एउटै शहरमा पनि चोकचोकमा विभिन्न किसिमको स्तम्भ देख्न पाइन्छ ।
यस्ता स्तम्भ बनाइनु हुन्छ कि हुदैन भन्ने विषयमा विभिन्न किसिमको चर्चा तथा वादविवाद सामाजिक सन्जालमा बेलाबेला आइरहन्छन । मेरो आजको लेख यस विषयलाई थाति राखेर यी विभिन्न ठाउमा शालिक तथ स्तम्भ बनाउने मुर्तिकार र उनको अवस्था खोतल्नको लागि अनुमति चाहन्छु ।
प्रदेश नं १ को धरानदेखि उत्तर तर्फ लागेपछिका प्राय शहरहरुमा निर्माण गरिएको स्तम्भ तथा सालिक बनाउने व्यक्ति संखुवासभाको धर्मदेवी नगरपालिका–४, माम्लिङका ५४ वर्षीय मूर्तिकार चन्द्रमान लिंख हुन् । २५ वर्षयता उनी देशका विभिन्न स्थानमा पुगेर मूर्ति र प्रतिमा बनाइरहेका छन् । उनले बनाएका प्रतिमाको चर्चा देशविदेशमा हुन्छ । प्रतिमा पर्यटक आर्कषणको केन्द्र बनेका छन् । तर समजालाई सुन्दर कला देखाइरहेका उनको दैनिकी भने अभावसँग पौठेजोरी खेल्दै बित्छ ।
मूर्तिकार चन्द्रमान लिंखाले संखुवासभाको मुढेशनिश्चरे बजारमा यलम्बरको पूर्णकदको मूर्ति, मुडेशनिश्चरे बजारमै फुलिरहेको चाँपको रूख, तीनजुरेको आरआर गार्डेनमा रहेको ढुंगालाई कुँदेर विभिन्न जनावरको आकृति, तेह्रथुमको लसुने बजारमा लसुन स्तम्भ, तेह्रथुमकै फाक्चामारामा फाल्गुनान्दको सालिक, तेह्रथुम सदरमुकाम म्याङलुङमा बिरालोको स्तम्भ, तेह्रथुमको बसन्तपुरमा गुरास स्तभ , धनकुटाको जितपुरमा झाँक्री बनाएका छन् ।
उनले मोरङको पथरीमा सिरिजंगा, मकवानपुरको हेटौंडामा विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको प्रतिमा पनि बनाएका छन् । उनले बनाएका सयौं प्रतिमा सार्वजनिक स्थानहरुमा राखिएको छ । धर्मदेवी नगरपालिकाको याख्खा चोकमा याख्खा जातिको संस्कारमा आधारित डोकेनी स्तम्भ निर्माणको काम लगभग भर्खरै सकेका छन् ।
धनकुटाको सिधुवामा रहेको फूलकोबीको स्तम्भ डिजाइन उनकै हो । तर अमेरिका जानुपर्ने भएको कारण त्यो पूरा गर्न सकेनन् । त्यहाँ फाइबरको कोबीको स्तम्भ निर्माण गरिएको छ । चन्द्रमानले भर्खरै भएको टेलिफोन संवादमा पनि उनी तेह्रथुममा स्तम्भ निर्माण गरिरहेको जानकारी दिएका छन ।
आधा जीवन मूर्तिकलामै व्यतित गरिसकेका लिङ्खाले ३०० भन्दा बढी साना तथा ठूला मूर्ति तथा स्तम्भ निर्माण गरिसकेको छन् । यो अभियान जारी छ । सानै उमेरदेखि मूर्ति बनाउने लिङ्खाले व्यावसायिकरुपमा मूर्ति निर्माण सुरु गरेको २०५० सालदेखि हो । उनले बनाएका पहिलो मूर्ति संखुवासभा माम्लिङको तीनवटा टाउको भएको देवीको मूर्ति हो ।
‘काम छोडौं भन्छु तर आत्माले मान्दैन’
चन्द्रमान लिङ्खाले बनाएका स्तम्भले धेरै स्थानलाई चिनाएको छ । तर उनलाई चिन्ने मान्छे कमै छन् । समाजमा उनको प्रतिभा परिचित छ ।अझ निर्माणको क्रममा उनले भोगेका पीडा दुःखदायी छन् । धेरैजसो ठाउँको स्तम्भ तथा मूर्ति निर्माणको क्रममा घाटा भोगेको उनी सुनाउँछन् । उनी आफूले गरेका धेरै काममा आर्थिक नोक्सानी भोगेको गुनासो गर्छन् । लिङ्खाले प्रदेश १ को संखुवासभा, तेह्रथुम, धनकुटालगायत जिल्लामा प्रतिभा बनाउन धेरै समय बिताएका छन् ।
भौगोलिक कठिनाइको कारण काम गर्दा आफूले इस्टिमेट गरेकोभन्दा धेरै खर्च लागेको उनी बताउँछन् । पहाडी क्षेत्रमा काम गर्दा सानो सामान खरिद गर्न तराई नै झर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । मौसम प्रतिकुल भइदिँदा निर्माणको समय लम्बिने गर्छ । स्तम्भ तथा मूर्ति निर्माण गरेर उनले सम्पति आर्जन गरेका छैनन् । केही स्थानमा उनले काम गरेको पैसा पनि पाएका छैनन् । ‘एकाउन्टमा शून्य ब्यालेन्स होला,’ उनी भन्छन्, ‘काम गर्दा घाटा लागे पनि आफूले गरेको कामले सन्तुष्टि दिन्छ ।’
आफूले निर्माण गरेका स्तम्भ तथा मूर्तिमा पर्यटक रमाएको देख्दा सबै पीडा भुल्ने गरेको उनले बताए । ‘आफ्नो कामबाट आम्दानी नहुँदा पेसा परिवर्तन गरौंजस्तो लाग्छ,’ उनी भन्छन्, ‘तर आत्माले मान्दैन, स्वस्थ रहुन्जेल र हैसियतले भ्याउन्जेल यसैलाई निरन्तरता दिन्छु ।’ उनको मूर्तिकलाको कदर गर्दै प्रदेश १ सामाजिक विकास मन्त्रालयले ‘प्रदेश साहित्य कला सम्मान पुरस्कार २०७६’ बाट सम्मानित गरेको थियो ।
मूर्तिकारको अवस्था सुध्रिएन तर ठाउँ सिगारिएको छ
धेरै स्थानको पहिचान झल्काउने स्तम्भ निर्माण गरेका उनी आफ्नो कामबाट सन्तुष्ट छन् । तर भविष्य सम्झिएर झस्कन्छन् । ‘मलाई केही साह्रोगाह्रो बिराम परिहाले त्यसलाई पार गर्न सक्छु कि सक्दिनँ, थाहा छैन,’ उनले भने, ‘समाजलाई मैले सकेजति योगदान गरेको छु, भोलि साह्रगाह्रो भए राज्यले हेर्छ होला ।’
उनले बनाएका स्तम्भ तथा मूर्तिले धेरै ठाउँलाई पर्यटक क्षेत्रको रुपमा विकास गरेसँगै पर्यटकको आगमनसमेत बढेको छ । चन्द्रमानले आफू जस्तो अवस्थामा भए पनि आफूले गरेको कार्यबाट कुनै ठाउँको महत्व बढ्दा आफूलाई खुसी लागेको बताउँछन् ।
कमजोर आर्थिक अवस्थासँग पौंठेजोरी खेल्दै अढाई दशक मूर्तिकला क्षेत्रमा बिताएका लिङ्खा राज्यले सहयोग गरे आफूजस्ता मूर्तिकार पेशाबाट पलायन हुनुपर्ने अवस्था नआउने बताउँछन् ।