नेपालगन्ज, २० जेष्ठ २०७८ — भेरी उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको सम्बन्धमा जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिले कुरुवाले ‘आवेग’मा आएर कुटपिट गरेको निष्कर्ष निकालेको छ । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे उनका आफन्तलाई बुझाउन नसक्दा घटना भएको उल्लेख गरिएको छ ।
एक साताअघि भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भएपछि वास्तविक अवस्था बुझ्न गठन गरिएको छानबिन समितिले अप्रत्यक्स्य रुपमा घटना हुनुमा स्वास्थ्यकर्मी नै जिम्मेवार रहेको बताएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टसहित सात सदस्यीय छानबिन समितिले तयार पारी बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा अस्पतालमा कार्यरत जनशक्तिहरुले आफूलाई सेवकका रुपमा लिई सेवाग्राहीप्रतिका व्यवहारमा नम्रता तथा शिष्टता देखाउनुपर्ने सुझाव दिइएको छ । अस्पतालमा आउने बिरामीहरुको समस्या तत्काल सुन्ने र रोगको प्रकृतिअनुसार उपचार सेवा दिनु पर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । प्रतिवेदनमा भेरी अस्पतालमा क्षमताभन्दा बढी कोरोनाका बिरामीहरु भर्ना भई उपचार गराइरहेका छन् । कैयौं नागरिकको जीवनरक्षा गरेको यथार्थ हुँदाहुँदै सेवाग्राहीहरुको सन्तुष्टि सफलताको मापन हुने हुँदा सेवाग्राहीलाई सेवा लिन भौंतारिनुपर्ने अवस्थाको अन्त्य नभएको भनेर उल्लेख छ ।
त्यस्तै भेरी अस्पतालमा दरबन्दीअनुसारको जनशक्तिसमेत अभाव रहेकाले कार्य सम्पादनमा समस्या हुने गरेको छ । बिरामीका कुरुवाको आवागमन व्यवस्थित हुन नसकेको, आईसीयूजस्तो संवेदनशील स्थानमा अनाधिकृत प्रवेश र कुरुवालाई अस्पताल प्रशासनले पास दिनुपर्नेमा सुरक्षाकर्मीले दिने गरेको उल्लेख गरिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट बाहिर हल्ला गरिएजस्तो घटना सुनियोजित देखिँदैन । अवस्थालाई व्यवस्थापन गर्न नसक्दा घटना भएको देखिएको जनाएका छन ।
गत बिहीबार दाङका कोरोना संक्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, भरत रावत र छोरा लोकराज लगायतले भेरी अस्पतालको स्वास्थ्यकर्मीलाई आक्रमण गरेपछि चिकित्सकसहित स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएका थिए । प्रतिवेदनका अनुसार मृतकका भाइ र छोरा घटनामा प्रत्यक्ष संलग्न भएकाले कारबाहीका लागि सिफारिस गरिएको र प्रतिवेदनअनुसार अस्पताल व्यवस्थापन समितिसँग छलफल गरेर तत्काल अल्पकालीन र दीर्घकालीन रुपमा सुझावहरु कार्यान्वयन गर्ने जनाइएको छ । आगामी दिनमा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुन नदिन सुरक्षा व्यवस्था कडाइ गर्ने र अस्पतालको आन्तरिक सुरक्षा व्यवस्था मिलाउन थप सुरक्षा गार्ड राख्नु पर्ने सुझाव दिइएको छ ।