सविन घिमिरे –
तिम्रो नयन, तिम्रो अधर, तिम्रो रुप
केको वर्णन गरुँ म ?
कुनै एकको वर्णन गर्दा, अर्को एक आरिसले जल्ला
तिमी पूरै सुन्दर छौ ।
तिम्रो नजर, तिम्रो मुस्कान, तिम्रो चालढाल
केको प्रशंसा गरुँ म ?
तिम्रो रुपको मात्र गुणगान गाएँ भने चरित्रमाथि अन्याय हुन्छ
तिमी व्यवहारको पनि उदाहरण छौ ।
तर नसोच ! मलाई तिम्रो सुन्दरताको लोभ छ,
न त तिम्रो चरित्रको नै मतलब छ मलाई ।
कुनै दिन तिम्रा नजरलाई अन्धकारले ढाके भने,
म तिम्रो ज्योति बन्नेछु ।
तिम्रा कानले केही नसुन्ने भए,
म तिम्रो इसारा बन्नेछु ।
तिम्रो ओठ बन्द भए कुनै दिन,
म तिम्रो आवाज बन्नेछु ।
यदि कुनै दिन समयले तिमीलाई चरित्रहीन बनाए,
म तिम्रो पथप्रदर्शक बन्नेछु ।
तर मृत्युले नछुट्याउन्जेलसम्म
तिमीलाई कहिल्यै छाड्ने छुइन ।
तिमी जस्ती छौ, जस्ती हुनेछौ
मलाई तिमी सधै स्वीकार्य छौ ।