सुजन दाहाल ,
संसारमा सबै कुराहरु पत्यार लाग्ने किसिमका हुदैनन् । कति घटनाहरु त असम्भव जस्तो देखिएता पनि साचो हुन्छन। यस ब्रह्माण्डमा भएका हरेक नक्षत्र , ग्रह तथा उपग्रहहरु आफ्नै प्रकृतिका हुन्छन। यहाँ प्रत्येक सेकेण्ड घट्ने अनेक घटनाहरुबारे हामी धेरै जसो अनविज्ञ छौ । यहाका ग्रहहरुमा घट्ने कतिपय घटनाहरु त हामी विश्वास नै गर्न सक्दैनौ ।
हाम्रो पृथ्वीमा पानीको वर्ष हुन्छ । तर के तपाइहरुलाई थाहा छ ? यस व्रह्माण्डमा एउटा यस्तो ग्रह छ जहाँ पग्लेका सिसाहरुको वर्षा हुने गर्दछ। हो , HD189733b नामक ग्रहमा पग्लेका सिसाहरुको वर्षा हुने गर्दछ। यी पग्लेका सिसाहरुको गति ध्वनिको गतिभन्दा ७ गुणा बढी अर्थात् ७००० किलोमिटर प्रतिघण्टाको गतिमा पूर्वदेखि पश्चिम वा पश्चिमदेखि पूर्व तिर बहन्छन। कुनै एउटा वस्तुलाई यो ग्रहको ब्रह्माण्डमा राख्यौ भने उक्त वस्तुलाई ती सिसाका थोपाहरुले कति असर गर्दछ भन्ने कुरा हामी कल्पनै गर्न सक्दैनौ ।
HD189733b ग्रह हाम्रो सौर्यमण्डलभन्दा बाहिरको ग्रह हो । हामीभन्दा ६३ प्रकाश वर्ष ( १ प्रकाश वर्ष = ९५ खर्ब किमि ) टाढा रहेको यो ग्रह HD189733 नामक ताराको वरिपरि घुमिरहेको छ। यो ग्रहले आफ्नो तारा वरिपरि घुम्न २ दिन ५ घण्टा समय लगाउदछ ; अनुपातमा पृथ्वीले सुर्यको वरिपरि घुम्न झन्डै ३६५ दिन लगाउदछ ।
सन् २००८ मा खगोलशास्त्रीहरुको एक समुहले यो ग्रह निलो रंगको रहेको र यसको वायुमण्डलमा म्याग्नेसियम सिलिकेट अर्थात सिसाका कणहरु छन् भनि प्रतिवेदन प्रस्तुत गरेका थिए । यसका साथै यस ग्रहमा मिथेन , कार्बोनमोनोअक्साइड , सोडियम र पोटासियम पनि छन् भनि पछिल्ला अध्ययनहरुले जनाएको छ । सतहको तापक्रम १००० डिग्री सेल्सियस भन्दा धेरै रहेको यस ग्रहमा कुनै पनि प्राणिको जीवन असम्भव छ।
(लेखक भौतिकशास्त्रका विद्यार्थी हुन् ।)