काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले राजीनामा दिने भएका छन्। पाँच दलीय गठबन्धन सरकारले अहिलेको संसदको आयु मंसिर ४ को चुनावपछिसम्म लैजान लागेपछि असन्तुष्टि जनाउँदै लिङ्देनले राजीनामा दिने भएका छन्।
निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा गठबन्धन सरकार काम चलाउमा परिणत भइसकेको छ। यस अवस्थामा संसदलाई मंसिर ४ भन्दा पछि लैजाने कुरा असंवैधानिक भएको भन्दै विरोध भइरहेका छ । चुनाव घोषणा भइसकेको सन्दर्भमा तलब भत्ता खाएर बस्नुहुँदैन भनेर आफुले राजीनामा दिन लागेको लिङदेनले बताएका छन।
उनले राजीनामा दिनुअघि आइतवार २ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई अन्तिम सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउ हैसियतमा रहेको सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधन गर्न लागेको छ । शुक्रबार राति प्रतिनिधिसभामा दर्ता भएको विधेयक पारित भएमा मंसिर ४ को निर्वाचनपछि पनि अहिलेकै संसद् बहाल रहनेछ ।
नवनिर्वाचित संसद्को पहिलो बैठक नबसेसम्म यही प्रतिनिधिसभा कायम रहने, सुविधा लिने तथा राजनीतिक दाउपेचमा राज्यको ढुकुटी खर्च गर्ने उद्देश्यले विधेयक ल्याइएकामा संविधानविद्हरूले आपत्ति व्यक्त गरेका छन् ।