विराटनगर / सविन घिमिरे – विभिन्न रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स ‘भोज ‘ सँग विराटनगरमा रहेको ‘ क्विकर फुड’ गाभिएको छ ।
प्रविधिमा आधारित नेपाली कम्पनीले अर्को नेपाली प्रविधिमा आधारित कम्पनीसंग गाभिएको यो पहिलो पटक हो ।
‘ भोज ‘ ले विगत ५ वर्षदेखि काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल र भैरहवामा खाद्यान्न तथा किराना सामान डेलिभरी सेवा प्रदान गर्दै आएको छ । डेलिभरी सेवाहरू बाहेक रेस्टुरेन्टहरूमा डाइन-इन डिलहरूको लागि पनि ‘ भोज ‘ परिचित छ। नेपालमा ९ सयभन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी रहेको ‘भोज’ ले रातको २ बजेसम्म खाना डेलिभरी सेवा प्रदान गर्दछ।
क्विकरफुडले विराटनगरमा तीन वर्षदेखि ७५ भन्दा बढी रेष्टुरेन्टहरुको परिकार डेलिभरी सेवा प्रदान गर्दै आएको छ ।
‘भोज ‘ जस्तो द्रुत गतिमा अगाडि बढि रहेको तथा साझा दृष्टिकोण र आकांक्षाहरू भएको इ – कमर्स सँग सहकार्य गर्न पाउदा गर्व लागेको क्विकर फुडका संस्थापक दिवस दाहालले बताउनुभयो। ” हामीले क्विकरफुड सञ्चालन गरेको ३ वर्ष भयो । हामी सधैं भोज जस्ता द्रुत रूपमा बढ्दै गएका कम्पनीहरू खोजिरहेका छौं। यति छोटो समयमा उहाँहरुको प्रगतिले दिएको प्रेणाले गर्दा हामी धेरै समान दृष्टिकोण र आकांक्षाहरू साझा गर्दैछौ। ‘क्विकरफुड’ अनलाइन खाना अर्डर गर्ने इ कमर्समा ‘भोज’ को एक हिस्सा बन्न गर्व गर्दछ। यस सहकार्यले नयाँ उत्पादनहरू लन्च गर्न तथा नयाँ बजारहरूमा पुग्न हामीलाई थप सक्रिय बनाउनेछ। ” क्विकरफुडका संस्थापक दिवास दाहालले बताउनुभयो।
आफ्नो सेवाहरू नेपालको पूर्वी क्षेत्रमा विस्तार गर्न खोजिरहेको बेला क्विकरफुड जस्तो उपयुक्त इ कमर्स पाउँदा खुशी लागेको भोजका सह संस्थापक निकेत अग्रवालले बताउनुभयो। ” हामी क्विकरफुड र संस्थापक दिवस दाहालको यात्राबाट धेरै प्रभावित थियौं र उहाँहरुसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। हामी अब यस सहकार्य मार्फत सो क्षेत्रमा खाना र किराना सामानहरुको डेलिभरीलाई नयाँ उचाइमा लैजान खोजिरहेका छौं। ” अग्रवालले बताउनु भएको छ।
विराटनगरबाहेक छिट्टै धरान, इटहरी र वरपरका शहरहरुमा पनि यो सेवा विस्तार गरिने जानकारी पनि प्रेस मिटबाट गराइएको छ।