नेपालको चुनावी ईतिहास हेर्दा सर्वप्रथम बि स २००४ सालमा पहिलो म्यूनिसिपल चुनाव भएको देखिन्छ । उदारवादी राणा शासकका रुपमा परिचित श्री ३ पद्म शमशेरबाट बि सं २००४ साल जेठ २७ गतेको को गोरखापत्रमा ‘मुलुकमा नगरपालिका खडा गर्ने त्यसमा मतदानबाट प्रतिनिधि छान्ने, प्रतिनिधि छान्दा सोच विचारपूर्वक असल, अनुभवी र लायक प्रतिनिधि छानी मुलुकको उत्थानमा सहयोगी हुन आवश्यक छ ।’ भनेर सम्बोधन भए बमोजिम नेपालमा पहिलोपटक चुनाव सम्पन्न भएको थियो ।
काठमाडौंबाट सुरु गरिएको चुनावका लागि ‘काठमाडौं म्युनिसिपलिटी’लाई २१ वटा वडामा विभाजित गरि प्रत्येक वडाबाट एक जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएकाे थियाे । बि सं २००४ साल जेठ ३१ गतेको गोरखापत्रमा छापिएको सरकारी सूचनाको आधारमा हेर्द बि सं २००४ साल जेठ २९ गते यो चुनाव सम्पन्न भएको देखिन्छ । त्यतिबेला चुनाव भएको १३ हजार ५ सय ५३ घरधुरी रहेको ‘काठमाडौं म्यूनसिपलिटी’ मा मतदानको अघिल्लो दिन नै भोलिपल्ट खसालिने मतपत्र सबै परिवारका मतदाता समक्ष घरघरमा पुर्याइएको थियो ।
महिलालाई मतदानको अधिकारबट बञ्चित गरी २१ वर्ष पुगेका पुरुषले मात्र भोट हाल्न पाउने व्यवस्था गरिएको यस निर्वाचनमा २१ वडाबाट २१ जना निर्वाचित प्रतिनिधि र राणा शासकले मनोनीत गरेका १० जना प्रतिनिधि रहने व्य्वस्था थियो, जसमा भुवनलाल प्रधान निर्विरोध निर्वाचित भएका थिए ।
बि स २००७ साल पछि राणा शासनको अन्त्य भएपछि बालिग मताधिकारको आधारमा बि स २०१५ साल फागुन ७ गते आम निर्वाचन सम्पना भएको थियो, जसलाई पहिलो निर्वाचन मानिएको छ। यस निर्वाचनमा १६ वटा राजनैतिक दलहरुले भाग लिएका थिए ।
सामाग्री स्रोत : जगदिश भण्डारी ( तस्विरमा नेपाल)