भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको चौथो खेलमा नेपाल आज बंगलादेशसँग भिड्दै छ। खेल दिउँसो पौने ३ बजे भुटानको चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ।
यसअघि आइतबारको खेलमा नेपाल ३–० ले बंगलादेशसँग पराजित भएको थियो। नेपाललाई अब उपाधि होडमा टिक्न बाँकी तीनै खेल जित्नैपर्ने दबाब छ।
आज पनि पराजित भएमा नेपाल बाँकी दुई खेल जितेपनि अधिकतम ९ अंक मात्र बनाउन सक्छ, तर भारत वा बंगलादेशमध्ये एक टोलीले ९ अंक पार गर्ने भएकाले नेपाल उपाधि दौडबाट बाहिरिनेछ।
प्रतियोगिता डबल राउण्ड रोबिन लिग प्रणालीमा भइरहेको छ। हाल भारत ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा, बंगलादेश ६ अंकसहित दोस्रोमा, नेपाल ३ अंकमा तेस्रोमा र भुटान जितविहीन चौथो स्थानमा छ।
नेपाल पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ ले पराजित गरेको थियो।
चार टोली सहभागी प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले उपाधि जित्ने नियम रहेको छ।