१८ असोज, काठमाडौं । देशभर लगातार परेको अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका स्रोतका अनुसार, देशभरका अधिकांश राजमार्गहरूमा पहिरो खस्दा यातायात अवरुद्ध भएको र मौसम पूर्वानुमान महाशाखाले अझै वर्षा र जोखिमको चेतावनी जारी गरेपछि बिदा बढाउने निर्णय गरिएको हो।
यसअघि सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तयारीमा थिए। तर, अवरोध र जोखिमको कारणले निरन्तरता दिन कठिन हुने निष्कर्ष निकाल्दै सरकारले दुई दिनका लागि कार्यालयहरू बन्द राख्ने निर्णय गरेको हो।
यसैबीच, गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग सुरक्षा अवस्था र विपद् व्यवस्थापनबारे छलफल गरेको छ। छलफलपछि उच्च जोखिममा रहेका बस्तीहरूमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयन्त्र परिचालन गर्ने निर्णय भएको छ।
गृह मन्त्रालयका अनुसार, आकस्मिक उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्, र आवश्यकता अनुसार तत्काल परिचालन गरिनेछ।