“नयाँ पुस्ताका यी नेताहरूको प्रमुख कमजोरी एउटै हो , उनीहरू एउटै मुद्दामा बोल्छन् तर एउटै मञ्चमा बोल्दैनन्।”

नेपालको राजनीति फेरि एकपटक निर्णायक मोडमा उभिएको छ। परम्परागत दलहरूभित्रको भ्रष्टाचार, गुटबन्दी र सत्तालिप्साले नयाँ पुस्ताको मन पनि वाक्क दिक्क बनाइसकेको छ। यही असन्तुष्टि र निराशाको बीचमा बालेन शाह, हर्क साम्पाङ, रवि लामिछाने, गोपी हमाल , कुलमान घिसिङ्ग, सागर ढकाल लगायतका नामहरू देशको राजनीतिक धरातलमा नयाँ आशा र सम्भावनाका प्रतीक बनेर उदाएका छन्। यी नेताहरू कुनै एउटा दल वा विचारधाराको सीमाभित्र होइन ‘सिस्टम फेर्ने’ साझा भावना र नागरिक-केन्द्रित दृष्टिकोणबाट अघि बढेका छन्। जनता यिनीहरु सबै एक हुन् भन्ने चाहना राखेको देखिन्छ तर यिनै नयाँ पुस्ताका प्रतिनिधिहरूबीच अहंकार, रणनीतिक असमञ्जस र व्यक्तिगत ब्रान्डको प्रतिस्पर्धाले उनीहरूलाई एकआपसमा टाढा पारिरहेको छ । यसले दीर्घकालीन दृष्टिले जेनजी आन्दोलनको ऊर्जा कमजोर पार्ने खतरा बोक्दछ ।
परम्परागत राजनीतिक दलहरूको विकल्प खोज्दै जनता फेरि पनि सडक हुदै अब मतपेटीसम्मको यात्रा तय गरिरहेका छन् । दशकौँदेखि सत्ता फेरिए पनि प्रणाली, सोच र संस्कार उस्तै रहँदा जनताको भरोसा पुराना दलहरूबाट हराउँदै गएको छ। एमाले, कांग्रेस र माओवादीका लगायत पार्टीहरुको भ्रस्टाचार , वेथिति , आन्तरिक गुटबन्दी र अनुशासनहीनता देखेर युवापुस्ताले ठूला दलको विकल्प खोजिरहेका थिए । यही खोजीको उत्तरका रूपमा काठमाडौंमा बालेन शाहको उदय भयो, धरानमा हर्क साम्पाङले पुराना राजनीतिक संस्कार तोड्ने साहसिक प्रयोग गरेका थिए , रवि लामिछानेले संस्थागत दलहरूको विकल्पको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे र सागर ढकाल जस्ता स्वतन्त्र सोचका पात्रहरू शिक्षित नागरिकको बीचमा वैचारिक विकल्पका रूपमा देखा परे। यी सबै पात्रहरू एउटै राजनीतिक पृष्ठभूमिबाट आएका होइनन् तर एउटै साझा पीडाबाट जन्मिएका हुन्। त्यो हो भ्रष्ट राजनीतिक संस्कृतिप्रति घृणा र नयाँ प्रणालीको चाहना।
यी नेताहरूको उदय त्यसमाथिको जेनजी क्रान्तिले जनताले अब ‘दल’ होइन, ‘दृष्टि’ खोजिरहेका छन् भन्ने कुराको पुष्टि गर्छ । जनता अब विचार र मूल्यमा आधारित राजनीति चाहन्छन् , अनुहार र घोषणापत्रमा होइन। बालेनले काठमाडौंमा विकास र पारदर्शिताको राजनीति देखाए, हर्क साम्पाङले जनश्रम र जनसहभागिताको मोडल दिए, रवि लामिछानेले प्रणालीभित्रै रहेर सुधारको बाटो देखाउन खोजे र सागर ढकालजस्ता युवाहरुले वैचारिक तथा शैक्षिक क्षेत्रमा नेतृत्वको सम्भावना प्रस्तुत गरे। यी सबै अलग-अलग क्षेत्रका अनुभव र शैली हुन् तर साझा लक्ष्य एउटै छ ” परम्परागत भ्रष्ट राजनीतिक संस्कृतिको अन्त्य र जनतामा केन्द्रित शासन प्रणालीको निर्माण।”
यिनीहरुले जेनजीका प्रतिनिधित्व गर्ने सुदन गुरुङ , मिराज ढुङ्गाना लगायतलाई पनि एकताको सूत्रमा बाँध्न सके वा जेनाजीका प्रतिनिधिहरु यिनीहरुसंग एकतामा बाधिए भने उनीहरू केवल बहुमत प्राप्त गर्ने शक्ति बन्ने छैनन् तर देशको राजनीतिक संस्कृतिमा स्थायी परिवर्तन ल्याउने सामर्थ्य राख्छन्। निर्वाचनको हिसाबले पनि हेर्ने हो भने काठमाडौं, धरान, चितवन, धनगढी, पोखरा लगायत शहरी क्षेत्रमा यी नेताहरूको जनसमर्थन अत्यधिक छ। गाउँ र सहरबीचको दूरी डिजिटल माध्यमले घटाइसकेकाले उनीहरूको प्रभाव राष्ट्रिय स्तरसम्म फैलिएको छ। अहिलेको मतदाताको ६० प्रतिशत हिस्सा ४० वर्षमुनिका छन् र यही पुस्ता बालेन, रवि, हर्क र सागर , सुदन र मिरजको भाषालाई बुझ्छ र विश्वास गर्छ। यदि यी नेता तथा प्रतिनिधिहरू सहकार्यमा गए भने उनीहरूले सहजै संघीय संसदमा बहुमत ल्याउने सम्भावना देखिन्छ।
तर अर्कोतिर चुनौती स्पष्ट छ व्यक्तिगत ब्रान्ड र राजनीतिक अहंकार। नयाँ पुस्ताका यी नेताहरूको प्रमुख कमजोरी एउटै हो , उनीहरू एउटै मुद्दामा बोल्छन् तर एउटै मञ्चमा बोल्दैनन्। बालेनको स्वतन्त्र सोच, हर्कको विद्रोही शैली, रविको संस्थागत राजनीति , सागरको बौद्धिक दृष्टिकोण , सुदनको हिम्मत — यी सबै शक्तिहरू मिल्न सके भने त्यो नेपालका लागि ऐतिहासिक मोड हुनेछ। तर अहिलेसम्म उनीहरू आ-आफ्नो क्षेत्रभित्र सीमित छन्। हर्क साम्पाङ्गले त पछिलो समयमा असाधारण व्यवहार प्रस्तुत गरिरहेका छन् । बालेनको विरोध नगरी उनलाई खान नरुच्ने जस्तो भएकोयसले गर्दा दिर्घकालिन रुपमा हर्क साम्पाङ्गको राजनीतिमा ह्रास आउने देखिन्छ । नया भनिएका नेताहरुमा यस्तो प्रवृत्ति लामो समय रह्यो भने जेनजी आन्दोलन अधुरो रहन्छ र फेरि पुरानै अनुहारहरूले संसद कब्जा गर्नेछन्।
नयाँ पुस्ताको राजनीतिक क्रान्ति सफल पार्न साझा दृष्टि अपरिहार्य छ। त्यो दृष्टि कुनै व्यक्ति वा दलको स्वार्थमा होइन राष्ट्रको नीतिमा आधारित हुनुपर्छ। यसका लागि सबैभन्दा पहिले व्यक्तिगत नेतृत्वभन्दा सामूहिक सोचको संस्कार विकास गर्नुपर्छ। जनताको आशा कुनै एक नेतामा होइन सम्पूर्ण पुस्तामा केन्द्रित छ। यदि नया शक्तिको रुपमा उदाएका नेताहरूले परस्पर विश्वास, सहकार्य र सामूहिक लक्ष्यको आधार निर्माण गरे भने उनीहरू नयाँ नेपालको राजनीतिक नक्सा कोर्न सक्छन्। तर यदि प्रतिस्पर्धा र व्यक्तिगत महत्वाकांक्षाले मार्ग निर्देशित गर्यो भने यो आन्दोलन पनि विगतका असफल प्रयोगझैँ इतिहासमा सीमित हुनेछ।
राजनीति केवल चुनाव जित्ने साधन होइन तर राष्ट्रनिर्माणको जिम्मेवारी पनि हो। जेनजी क्रान्तिले परिवर्तनको लहर ल्याएको छ तर त्यस लहरलाई स्थायी रूप दिन संस्थागत सहकार्य अत्यन्त आवश्यक छ। यो सहकार्य ‘फ्युजन अफ आइडियाज’ हुनुपर्छ। हर्कको विगतको जनमुखीता, बालेनको हालसम्मको व्यावहारिकता, रविको संगठन क्षमता , सागरको बौद्धिक दृष्टि , सुदन र मिराजहरुको हिमात यी दृष्टिकोणहरु एक ठाउँमा भेटिए भने त्यो केवल गठबन्धन होइन एउटा नयाँ राजनीतिक संस्कृति हुनेछ।
अन्ततः, नयाँ पुस्ताका नेताहरूले बुझ्नैपर्छ जनताले उनीहरूलाई पुराना दलहरूको विकल्पको रूपमा मात्र होइन नयाँ प्रणालीको नेतृत्वका रूपमा पनि हेरिरहेका छन्। त्यसैले व्यक्तिगत नेतृत्वले सामूहिक सोच ओझेल नपारोस्। देशले अहिले हुल होइन, साझा दृष्टि भएका नेतृत्व खोजिरहेको छ। जेनजी आन्दोलनको सार यही हो सहकार्य, पारदर्शिता र जन केन्द्रितता।
यदि बालेन, हर्क, रवि सागर र जेनजी प्रतिनिधिहर्रुले यो सन्देश बुझ्न सके भने नेपालमा नयाँ राजनीतिक युगको सुरुवात हुनेछ। नत्र जनताको विश्वास फेरि निराशामा परिणत हुनेछ। हाल विभिन्न जेनजी समूह हरुली आ आफ्नो पार्टी खोल्ने समाचारहरु पनि आइरहेका छन् । माथि नै भनि सके जेनजी आन्दोलनको सार यही हो सहकार्य, पारदर्शिता र जन केन्द्रितता हो । परिवर्तनको बाटो सुरु भइसकेको छ । अब त्यो बाटो एकताले तय गर्ने हो कि अहंकारले मोड्ने हो निर्णय उनीहरूकै हातमा छ।