अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सडकखण्ड तत्काल नखुल्ने भएपछि प्रहरीले यात्रु र सवारी चालकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार, देशका विभिन्न सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएपछि नाकाहरूमा सूचना जारी गरी यात्रु र चालकलाई असुरक्षित क्षेत्रमा नबस्न आग्रह गरिएको हो।
‘तत्काल सडक खोल्ने अवस्था छैन,’ सुवेदीले भने, ‘मौसम सामान्य भएसँगै मात्रै यातायात सहज हुने अपेक्षा गरिएको छ।’
उनले यात्रु र सवारी चालकलाई मौसम तथा सडक अवस्थाबारे सचेत रहन पनि अनुरोध गरेका छन्। लगातार वर्षाका कारण अहिले काठमाडौं उपत्यकालाई जोड्ने सबै प्रमुख सडकमार्ग बन्द रहेका छन्, जसले यातायात सेवा पूर्ण रूपमा प्रभावित पारेको छ।