१८ असोज, काठमाडौं । देशभर निरन्तर वर्षाको सम्भावना बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आ आफ्नो मन्त्रालय अन्तर्गतका जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई शनिबारसम्म अनिवार्य रूपमा कार्यस्थलमै उपस्थित हुन निर्देशन दिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले “अत्यन्त जरुरी सूचना” जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले अग्रिम तयारी गर्न आग्रह गरेको छ।
मन्त्रालयको सूचनामा भनिएको छ ,
“प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनका आधारमा सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासनिक अधिकृतहरूले पूर्व तयारी र प्रतिकार्यका काममा जुट्ने व्यवस्था मिलाउन तथा शनिबारसम्म कार्यस्थलमै पुग्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।”
मन्त्रालयका अनुसार देशका पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेकाले आकस्मिक बाढी, पहिरो र जनधनको क्षति हुन सक्ने सम्भावना छ। यसलाई मध्यनजर गर्दै प्रशासनिक तयारी, जनसुरक्षा र राहत समन्वयमा कुनै ढिलाइ हुन नदिन सरकारी संयन्त्रलाई सचेत गराइएको हो।
यसअघि गृह मन्त्रालयले देशभरका राजमार्गहरूमा सम्भावित जोखिमका कारण ३ दिन सवारी सञ्चालनमा रोक लगाएको थियो। त्यसैगरी सरकारले आइतबार र सोमबार सार्वजनिक विदा पनि दीइसकेको छ ।
सरकारले नागरिकलाई समेत अत्यावश्यक बाहेकका यात्रामा नजान र सम्भावित जोखिम क्षेत्रहरूबाट सुरक्षित स्थानमा बस्न अपील गरेको छ।
