काठमाडौँ — कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था रहेको छ ।
पहिलो चरणमा शेर बहादुर देउवाले २२५८ मत प्राप्त गरेका छन भने शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २०मत प्राप्त गरेका छन्। देउवाले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन्। पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।