कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइने यस पर्व नेपाल लगायत दक्षिण एशियाका धेरै देशमा विशेष गरी भारत, भूटान र म्यानमारमा पनि विभिन्न प्रकारले मनाइन्छ। हिन्दू चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार प्रायः अक्टोबर वा नोभेम्बरको महिना शुरुमा पर्छ ।
पौराणिक महत्व
हिन्दू शास्त्रमा उल्लेख भए अनुसार बहिनी यमुनाको निम्तो स्वीकार गरी सूर्य पुत्र यमराजले आफ्नी बहिनीका घरमा रमाइलो मनाएको दिनको समझनामा कार्त्तिक कृष्ण त्रयोदशीदेखी कार्त्तिक शुक्ल द्वितीया सम्मका पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।
साथै भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावण लगायत असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग देखिनुले तिहारमा दीपावलिको पौराणिक महत्व देखाउँछ ।
काग तिहार
तिहारमा कागको पूजा गर्ने चलन भने लिच्छविकालको मध्य समयमा आएको हो। यो भन्दा अगाडि तिहार मनाए पनि लक्ष्मीको पूजा गरिन्थ्यो। लिच्छविकालको मध्य समयमा आएपछि तिहार मृत्यु संस्कारसँग जोडियो।
देउसी पछाडिको कारण
संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार पातालका राजा बलि शक्तिशाली हुँदै जादा घमण्डी पनि बनिरहेका थिए । आफ्नो घमण्डले देवताहरुलाई पनि दुख दिन थालेका थिए । यस कुराले पिडित देवताहरुलाई शान्ती दिन भगवान बिष्णुले बामन अवतार धारण गरी सानो बाउन्ने ब्रह्मण भेषमा पाताल पुगि उनको दरवारमा गई ३ पाइला जमिन भिक्षा मागे । आफ्नो सामु तुच्छ तीन पाईला जमिन मागेको देखेर सहजै हुन्छ भनेका मात्र थिए, बिष्णुले आफ्नो शक्ति प्रयोग गरी एक पाईला पृथ्वी, अर्को पाईला अन्तरिक्ष भयो भने तेश्रो पाईला दिने ताकत बलि राजासँग भएन । यसै मौकामा देवताहरु आएर ‘देवम् शिरम्, देवम् शिरम् ‘ भनी बलि राजाको टाउको नै माग्न थाले । संयोगबस यो समय यमपञ्चकको बेला परेको थियो र त्यससयय पछि नै ‘देवम् शिरम्’ अपभ्रंश हुँदै देउसिरे भनेर देउसी खेलिन थालिएको देखिन्छ ।
सामाग्री स्रोत : तस्विरमा नेपाल