विराटनगर – अङ्ग्रेजी महिना नोभेम्बेर शुरु भएसङ्गै सामाजिक सन्जालहरुमा मेन च्यालेन्ज नो सेभ नोभेम्बर निक्कै चर्चामा छ । नो सेभ नोभेम्बर एक महिनाको एक विश्वव्यापी अभियान हो जुन अवधिमा सहभागीहरूले आफ्नो कपाल तथा दाह्री खौरिन र काटछाट गर्न छोड्दछन । सहभागी विशेष गरेर पुरुष हुन्छन । यस अभियान अन्तर्गत नोभेम्बर महिना भर पुरुषहरुले दारी, जुंगा तथा कपाल नकाटिकन क्यान्सरको रोकथामको बारेमा सचेतना दिने र क्यान्सर रोग संग लडिरहेकाहरुलाई आर्थिक सहयोग गर्ने गर्दछन। धेरैले यस अभियानमा क्यान्सरको कारणबाट कपालविहिन भएकाहरुको लागि कपाल दान गर्दछन । कसैले महिनाभर कपाल तथा दाह्री नकाटी सो काट्ने खर्च क्यान्सर रोगीहरुको लागि सहयोग गर्छन ।त्यसो त कपाल अथवा दाह्री नभएका पुरुष तथा महिलाहरुले पनि विभिन्न च्यारिटि मार्फत आर्थिक सहयोग गरेर यस अभियानलाइ साथ दिएको पनि पाइन्छ ।
कोलोरेक्टल क्यान्सरसङ्ग सङ्घर्ष गरेका म्याथ्यू हिलको सन २००७ नोभेम्बर महिनामा मृत्यु भएको दुई बर्ष पछि अर्थात सन २००९ बाट नो सेभ नोभेम्बर शुरु भएको हो । उनी र उनको परिवारले नोभेम्बर महिनामा कपाल तथा दाह्री नकाट्ने र रेजर , क्रीम इत्यादि किन्ने खर्च प्रोस्टेट, अण्डकोष तथा कोलोरेक्टल क्यान्सर जस्ता रोगहरूको अनुसन्धान गर्ने परोपकारी संस्थालाई चन्दा दिने कार्य पहिलेदेखि नै अपनाइसकेका थिए।
सन २००३ मा अष्ट्रेलियामा एक् साथिहरुको समुहबाट मुभेम्बर अभियान शुरु भएको थियो । त्यस समय उक्त समुहले महिनाभर आफ्नो जुँगा पालेर पुरुष स्वास्थ्य च्यारिटिको लागि रकम सङ्कलन गरेका थिए । मुभेम्बर फाउन्डेशन र नो शेभ नोभेम्बर दुई फरक संस्था हो, तर दुबैले नोभेम्बर महिनाको समयमा दाह्री , जुङ्गा नाकाट्न र स्वास्थ्य जागरण फैलाउन र क्यान्सरजस्ता परोपकारहरूलाई दान गर्न समर्थन र आह्वान गर्दछन ।
नेपालमा पनि नो सेभ नोभेम्बर अभियान अन्तर्गत दारी ग्याङले क्यान्सर संग सम्बन्धित रहेर विभिन्न किसिमका कामहरु गर्दै आइरहेको छ। दारी ग्याङ प्रत्यक्ष दारी संग जोडिएको युवाहरुको समूह हो जसमा एक लाख भन्दा बढि युवाहरु छन । सन् २०१७ को नोभेम्बर महिना मा दारी ग्याङले नो शेभ नोभेम्बर अभियान अन्तर्गत विभिन्न कार्यक्रम तथा च्यारिटिको माध्यामबाट रकम सङ्कलन गरेको थियो । यसबाट भक्तपुर अस्पतालमा आवश्यक १० थान बेड वार्मर, १ थान एलइडी टिभी र साउण्ड सिस्टम तथा भरतपुर क्यान्सर अस्पताल, चितवनमा क्यान्सर पिडित बालबालिकाहरुका लागि पार्क निर्माणार्थ तीस हजार नगदको चेक हस्तान्तरण गरेको थियो ।
अर्को बर्ष सन् २०१८ मा दारी ग्याङ पोखरामा पनि नोभेम्बर महिनाभर दारी, कपाल काट्दा हुने खर्च बचाउने अवधारणा अनुरुप रकम संकलन भएको थियो । एक जना क्यान्सर पिडितलाई हस्तान्तरण गर्न संकलन गरिएको रकम हस्तान्तरण अगावै उनको निधन भएकोले उक्त रकम नगद रु १०,००० श्री नवीन माध्यमिक बिद्यालय, गैह्रापाटन, पोखरामा अध्ययनरत आर्थिक स्थिती कमजोर भएकी एक जना छात्रा रुबिना नेपाललाई हस्तान्तरण गरिएको थियो ।
सन २०१९ को नो शेभ नोभेम्बरको अवसरमा दारी ग्याङले क्यान्सरविरुद्ध नेपाली युवासँगको सहकार्यमा देशभरि क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम गरेको थियो । मोरङ, काभ्रे, काठमाडौं, चितवन, नवलपुर, रुपन्देही, कास्की र कैलाली गरि ८ जिल्लाका १५ वटा विद्यालयकलेजमा अध्ययनरत १५०० भन्दा बढि विद्यार्थीहरु माझ १६ वटा विभिन्न संघसंस्थाहरु संगको सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो । यसै गरि दारी ग्याङले देशभर चलाएको क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम अवधीमा देश बाहिर सक्रिय कतार दारी ग्याङको तर्फबाट दारीको हेरचाहमा लाग्न सक्ने खर्च कटौती गरि संकलित एकमुष्ट रकम रु १५,००० र काठमाडौंको तर्फबाट थप संकलित रकम रु १०,००० गरि जम्मा रु २५००० रकम रक्त क्यान्सरबाट पिडित दारी ग्याङका सक्रिय सदस्य मचाकाजी महर्जनका ५ बर्षिय सुपुत्रको उपचारको सहयोगको लागि छुट्याइएकोमा २०७६ माघ ११ गते एक कार्यक्रम बीच हस्तान्तरण गरेको थियो।
सन् २०२० मा पनि नोभेम्बर महिनाभरि क्यान्सर सम्बन्धि विभिन्न कार्यक्रम गरि दारी ग्याङ्गले नो शेभ नोभेम्बर अभियान चलाएको थिए ।
यस वर्षको नोभेम्बर पनि शुरु भइसकेको छ । दारी ग्याङले यस वर्ष पनि क्यान्सरसम्बन्धि विभिन्न जनचेतना कार्यक्रमका साथ नो शेभ नोभेम्बर अभियान गरिरहेका छन।
यसरी विश्वका विभिन्न देशमा नोभेम्बर महिनामा पुरुषहरुले दाह्री तथा कपाल नकाटी विभिन्न स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने च्यालेन्जको रुपमा नो शेभ नोभेम्बर अभियान वृद्धि भइरहेको छ ।