विराटनगर – भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको बुधबार शिलान्यास गरेका छन् । भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना रहेको गुरुङ्गले बताए ।
उनका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । बेसमेन्टसहित पाँचतलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ । गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।