आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा प्रत्येक वैशाख कृष्णपक्ष औंशीका दिनलाई मातातीर्थ औंशीका रुपमा मनाईन्छ । आमा नभएकाहरुले भने आजका दिन राजधानीदेखि १० किलोमिटर पश्चिम-दक्षिण थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण आदि गर्ने प्रचलन रहेको छ ।
स्थानिय जनश्रुति अनुसार पौराणिक कालखण्डमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान रहेको मातातीर्थको त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुगेको थियो । सो घटनाले गोठालाहरु अचम्मित भएका गोठालाहरुले पुन: फ्यांकेका अन्य रोटीका टुक्राहरु पनि क्रमश: हराउँदै गएका थिए । गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन्, जसमा आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएको थिएन । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराएको उक्त दिन बैशाख कृष्णपक्ष औंसी रहेको थियो । सो घटनपछि उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास स्थानियमा पर्न गएको थियो । सो पछि हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउने प्रचलन सुरु हुनथाल्यो । केहि समयपछि सो स्थानमा एक कुण्ड निर्माण गरी मातातीर्थका नामले प्रचलनमा ल्याइयो । आमा प्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।
सामाग्री संकलन : जगदिश जग्स भन्डारी /तस्बिरमा नेपाल
फिचर इमेज : भिजनसन्सार डट कम