२२ असोज, काठमाडौं — नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले साइबर अपराध सम्बन्धी मुद्दामा प्रहरी केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा डेढ घण्टा लामो लिखित बयान दिएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले उनलाई बयानका लागि बोलाएको थियो। बस्नेतले बुधबार बिहान उपस्थित भएर सरकारी वकिल कार्यालयले पठाएका प्रश्नहरूको लिखित जवाफ दिएका हुन्।
ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार, बयान सरकारी वकिलको निर्देशनअनुसार लिइएको हो र बाँकी दुई टास्क पूरा भएपछि प्रतिवेदन बुझाइनेछ।
ब्यूरो स्रोतका अनुसार बस्नेतले बयानमा इन्कारी (अस्वीकार) जवाफ दिएका छन्।
उनीविरुद्ध शोभा पाठकले साइबर अपराधको उजुरी दिएकी थिइन्। प्रारम्भिक चरणमा अनुसन्धान नबढेपछि सरकारी वकिल कार्यालयले पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो।
स्रोत: अनलाइनखबर (Online Khabar)